• इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला

  • एजेन्सी। इजरायली वायुसेनाले प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरेको छ। गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो।

    इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ। हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको दाबी छ।

    मंगलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनीविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए। यो प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला सुरू हुने खतरा निम्त्याएको छ।

    प्रतिक्रिया स्वरुप प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए। यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ।

    यहुदी समुदायको जुलुस प्रदर्शनले झिनो बहुमतसहित बनेको सरकारका साथै ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्ध रोक्ने गरी भएको युद्धबिराम सम्झौतालाई संकटमा पार्ने खतरा उत्पन्न गरेको छ।

    गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो।

    यहुदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरुले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन्। हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ। पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो।

    बाजासहितका सयौं अतिराष्ट्रवादी यहुदीहरुको समूहले दमास्कस गेटसम्म प्रदर्शन गरेका थिए। यी प्रदर्शनमा सहभागीहरु अधिकांश युवा थिए र धेरैले इजरायली झण्डा बोकेका थिए।

    तर इजरायली विदेशमन्त्री याईर लापिडले ट्वीट गर्दै उक्त प्रदर्शनको निन्दा एवं भत्र्सना गरेका छन्। उनले जातिभेदी नाराबाजीले इजरायली जनताको अपमान गर्ने बताएका छन्।

    यो प्रदर्शनमा सहभागीहरु अघिल्लो महिनाका भन्दा कम थिए। दमास्कस गेटबाट उक्त भिड पुरानो शहरबाट पश्चिमी पर्खालतर्फ गएको थियो जहाँ यहूदीहरुले प्रार्थना गर्ने गर्दछन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय