• १९ घन्टादेखि टापुमा फसेकाहरूलाई सशस्त्र प्रहरीले गर्‍यो उद्धार

  • विगत १९ घन्टादेखि दाङस्थित राप्ती नदी बीचको टापुमा फसेका चार जनाको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ । लमही नगरपालिका-७ हसनापुर र राजपुर गाउँपालिका-२ बेलास्थित राप्ती नदीको बीच टापुमा हिजो दिउँसो २ बजेबाट फसेकाहरूको उद्धार गरिएको हो ।

    टापुको दुवैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो वस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाईवस्तुसँगै अलपत्र परेका थिए । उद्धार गरिएका व्यक्तिहरू लमही ७ बस्ने ४८ वर्षीय मन्सराम चौधरी, राजपुर २ बस्ने ५० वर्षीय सावित्री यादव, सोही ठाउँ बस्ने २६ वर्षीय राधेश्याम यादव र राजपुर ३ बस्ने २५ वर्षीय गणेश यादव रहेका छन् ।

    राति ९ बजे उनीहरू फसेको जानकारी आए पनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्धारमा कठिनाइ भएको थियो । आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माकोको कमान्डमा गएको विपद व्यवस्थापनसहितको टोलीले ९ बजे चारै जनाको उद्धार गरी घर पठाएको हो । उनीहरूले चराउन लिएर गएका गाईवस्तुचाहिँ सोही टापुमा रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय