• हेलम्बुमा पहिरो : ५० जना बेपत्ता, एउटा गाउँनै बगायो

  • काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि ५० जना बेपत्ता भएका छन् ।

    हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ ।

    तिम्बु बजारका बासिन्दा भने सुरक्षित स्थानमा छन् ।मंगलबार बेलुका ६ बजेतिर गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको र उनीहरुको अवस्था थाहा हुन नसकेको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिएका छन् ।

    उनले भने, ‘मेलम्ची खाने पानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ । खानेपानी आयोजनाका ३९ तथा माछा फर्मका ११ जना बेपत्ता छन् । स्थानीय प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ । तर बाटो अवरुद्ध भएका कारण राहत तथा खोजीको काम प्रभावित छ ।’

    पहिरोले वडा नम्बर तीनका तीनवटा, २ का चारवटा, ६ को एउटा तथा वडा नम्बर १ को एउटा माछा फर्मका पोखरी बगाएको उनले जानकारी दिए ।

    उनले भने, ‘लगातारको वर्षासँगै मेलम्ची आयोजनाको पानी मंगलबार बेलुकातिर अम्बाथाङमा फर्काइएको रहेछ, त्यसले पनि ठूलो पहिरोका लागि सहयोग गरेको अनुमान छ ।’

    यस्तै वडा नम्बर ७ को चनौटे बजार अहिले जोखिममा रहेको उनले बताए । बजारमुनि पहिरो र त्यो भन्दा तल मेलम्ची खोला रहेकाले बस्ती जोखिमा परेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय