मनाङ । मनाङमा बाढी पहिरो प्रभावितलाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ । हालै निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण नभएको भवनलाई बाढ पहिरो तथा डुबानमा परेर अलपत्र स्थानीयलाई राखिएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार मानवीय क्षति हुन नदिन स्थानीयलाई कारागारमा सारिएको हो । घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले मनाङ सदरमुकाम चामे डुबानमा छ । बाढीले ६ घर बगेको छ । त्यस्तै मनाङ हुलाक कार्यालयपनि ध्वस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पनि बाढीको उच्च जोखिममा रहेको खड्काले जानकारी दिए ।
बाढीका कारण मनाङ जाने सडक अवरुद्ध छ भने विजुलीका पोलहरु ढलेका छन्। चामे स्थित लघुजलविद्युत आयोजना र तिमाङको लघुजलविद्युत आयोजना बाढीले बगाइदिएको छ। बिजुली नहुँदा संचार सुविधा समेत अवरुद्ध हुने अवस्थामा पुगेको डिएसपी खड्काले बताए।
बाढी र पहिरोका कारण मनाङ स्थित तिमाङको बेलीब्रिज बगाएको छ। यसअघि जेठ दोस्रो साता परेको पानीले तिमाङ छहराको काठेपुल बगाएपछि सडक सञ्जालबाट मनाङ टुटेको थियो। तिमाङ बेलीब्रिजका साथै सडकका अन्य ठाउँमा पनि पहिरो गएको सिडिओ लामिछानेले बताए। बेसीशहर– चामे सडकका धेरै ठाउँमा पहिरो गएको जानकारी आएको डिएसपी खड्काले बताए।
मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङ प्रवेशद्वार ताल गाउँ सम्पर्कविहिन बन्न पुगेको छ। बाढीले बिजुलीका पोल ढलेका छन् भने टेलिफोन सेवा पनि अवरुद्ध हुन पुगेको छ। ताल गाउँ मंगलबार विहानैदेखि संचारविहिन बन्न पुगेको हो।
ताल गाउँ मर्स्याङ्दी नदी किनारैमा छ। नदीमा पानीको वहाव १ मिटर मात्रै बढ्दा पनि बस्ती डुबानमा पर्ने समस्या छ। अहिले तालमा रहेका सबै ४८ घर डुबानमा परेको डिएसपी खड्काले बताए। ज्यान जोगाउन स्थानीयहरु ओेढारमा गएर बसेको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।