काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि सर्वोच्चले मागेअनुसार सर्वोच्च बार एशोसिएसनले दुई जना वरिष्ठ अधिवक्ताहरुलाई सिफारिस गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एशोसिएसनबाट दुई दुई जना एमिकस क्युरी मगाएको थियो ।
सर्वोच्चको आग्रहअनुसार सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको हो ।
जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ असारदेखि निरन्तर सुनुवाई हुँदैछ।
सो मुद्दामा सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन भएको छ ।
गम्भीर मुद्दामा सुनुवाईमा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्न सक्ने व्यवस्था छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।