• देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • मनसुनी वायुको प्रभावले देशभरको मौसम सक्रिय हुँदा हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार जारी गरिएको महाशाखाको बुटेलिनमा प्रदेश २ केही स्थानमा भने मेघगर्जन/चट्टयाङ्सहित वर्षा भइरहेको उल्लेख छ ।

    आज दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

    यता, जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश-१, प्रदेश- २ र बागमती प्रदेशबाट आगमन भएको मनसुन हाल देशैभर सक्रिय हुँदै छ ।

    मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ ।

    कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । ती नदीहरूमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस