एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन(नेटो)को बैठकमा भाग लिन ब्रसेल्स पुगेका छन्।
राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग छलफल गर्नेछन्।
हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिसिएको थियो।
नेटो शिखर बैठकमा राष्ट्रपति बाइडेनले चीन र रसियाका गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरुलाई आश्वस्त पार्न कोशिस गर्नेछन्।
बाइडेनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आएका छन्।
बाइडेनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिबद्धताप्रति पुनः जोड दिनेछ। यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिवाद गरिने छ भन्ने उल्लेख छ।
गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताएका थिए।
राष्ट्रपति बाइडेन हाल युरोपेली मुलुकको आठ दिने भ्रमणमा छन्। उनले यसअघि नै बेलायतको कोर्नवालमा आयोजित विश्वका “सम्पन्न सात” (जी–७) को बैठकमा सहभागिता जनाएका थिए।
राष्ट्रपति बाइडेनले जेनेभामा बुधबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नेछन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।