कोरोनाको दोस्रो लहर ओरालो लागेको छ, अब सरकार र जनता के गर्ने ?
कोरोना महामारीको दोस्रो लहर ओरालो लागेको छ । अब जनजीवन सामान्य बनाउने, लकडाउन खुकुलो बनाउने तर जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी छ ।
१. संक्रमणदर ५० प्रतिशत को हाराहारीमा भएकोमा अहिले २५ – ३० प्रतिशत को हाराहारीमा छ ।
२. मृत्युदर पनि घटिरहेको छ ।
३. संक्रमण दरको तुलनामा निको हुने दर बढिरहेको छ ।
४. अस्पतालमा बेड नपाउने स्थिति लगभग समाधान भएको छ ।
५. अक्सिजनको पर्याप्तता बढेको छ ।
६. छिमेकी देश भारतमा महामारी घट्दो क्रममा हुँदा त्यसको नेपालमा पनि सकारात्मक प्रभाव देखिएको छ ।
७. अमेरिका, बेलायत, डेनमार्कलगायतका देशले खोप उपलब्ध गराउने प्रक्रियामा छन् । हाल जी ७ को बैठकमा अल्प विकसित देशलाई खोप उपलब्ध गराउनु पर्ने एजेण्डा प्रमुख बनेको छ । नेपालले चीन, रुस, अमेरिकालगायत देशबाट खोप किन्ने प्रक्रिया अगाडि बढेको सम्बन्धित पक्षले बताएका छन् । कोभ्याक्स सुविधाअन्तर्गत विकासशील मुलुकलाई खोप उपलब्ध गराउन भारतलगायत खोप उत्पादक मुलुकलाई दबाब परेको छ ।
८. अधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन् । हरेक क्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने भन्ने चेतना तथा सीप विकास भएको छ ।
९. अस्पतालमा साधनस्रोतको उपलब्धता तथा स्वास्थ्य जनशक्तिको अनुभव बढेको छ ।
१०. संक्रमण भएको थाहा नभएका वा परीक्षण नगरी होम आइसोलेसनमा निको भएका व्यक्तिको संख्या लाखौँ छ । ती लाखौँ व्यक्तिको शरीरमा संक्रमणबाट एन्टिबडी बनेको छ । उक्त एन्टिबडीले पनि पुन: संक्रमण हुने वा संक्रमण भएका गम्भीर नहुने अवस्था छ ।
०००
सरकारले के गर्ने ?
– जनताको रोग, भोक र शोकको सम्बोधन हुने गरी काम गर्ने बातावरण सिर्जना गर्नु उपयुक्त हुन्छ ।
– जति सक्यो तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई अभियानको रूपमा खोप लगाउनु पर्दछ ।
– हरेक टोल, गल्ली, चोक आदिमा व्यापक प्रहरी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने ।
– स्थानीय निकायबाट लकडाउनको मारमा परेका नागरिकलाई राहतको व्यवस्था गर्ने ।
नागरिकले के गर्ने ?
– आफू तथा आफ्नो परिवार संक्रमणबाट बच्नको लागि आफैँ सचेत भएर अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठाका बैठक वा भेटघाट नगर्ने, हात सफा गरिरहने तथा पाएसम्म खोप लगाउने ।
– काम गर्नु नपर्ने व्यक्ति सेल्फ लकडाउनमा बस्ने / काममा जाने व्यक्ति कामको लागि जाने / आउने गर्ने । अनावश्यक ठाउँमा नजाने ।
– स्वस्थ जीवनशैली अवलम्बन गर्ने ।
सबैले आफ्नो तथा आफ्नो परिवारलाई संक्रमणबाट बचाउने कोशिस गर्ने हो भने महामारीको तेस्रो लहर रोक्न सकिन्छ । सकेसम्म सबै पक्षले कोरोना नियन्त्रण तथा रोकथामको लागि हातेमालो गरौँ ।