• प्रेममा शक्ति छ तर के प्रहरीबीच प्रेम छ ?

  • प्रहरीमा काम गर्दा एक आपसमा केबल फुलीसँगको सम्बन्ध मात्र हुन्छ वा हाम्राबीच केही आत्मीयता र भावनात्मक सम्बन्ध अनि माया दया भन्ने चिज पनि हुन्छन् ।? आज यही विषएमा चर्चा गर्दै छु ।

    म सुर्खेतमा रहँदा विष्णु श्रेष्ठ नामका एक सइ जाजरकोट र सुर्खेत सीमामा कतै एम्बुसमा परे र सेट बाट आत्तिदै सहयोग माग्न थाले।उनको भनाइमा उनीमाथि बम प्रहार भएको थियो। विस्तारै विस्तारै उनी बेसुरमा बोल्न थाले।हामी सबैलाई गाली पनि गर्न थाले । हामी चिन्तित बन्यौं । तर ती कहाँ छन्? के हालतमा छन् ? कुन परिस्थितिमा छन् ? थाहा छैन । उनी सेटमा मलाई आफ्नो ज्यान जोगाइदिन निरन्तर अनुरोध गरिरहेका थिए।

    मैले हेलिकोप्टर मगाएँ । राजेन्द्र सा’बले त्यतै कतै उडिरहेको हेलिकोप्टर पठाइदिनुभयो । जसमा दुई जाना अटाउँथ्यो। ती सईको उद्दार गर्न दुई जना पठाउनु पर्नेभयो । मैले सबै प्रहरीहरुलाइ लाइन लगाएँ । मलाइ थाहा थियो कि जो दुई जना जान्छन् उनीहरु बाँचेर फर्कने सम्भावना न्यून छ । तर एम्बुसमा परेका साथीहरुलाई जोगाउन कोही न कोही त जानैपर्ने थियो। विष्णुले त्यहाँ गोली चलिरहेको पनी बताइरहेका थिए। त्यहाँ दुई जना मात्र जानु सुसाइड गर्नु बराबर नै थियो।

    मैले सब प्रहरीहरुलाई सामेल गरी लाइन लगाएँ र कसलाई पठाउँ भनी एक एक गरी हेरें। कसैका डेरामा श्रीमती थिए, कसैको श्रीमती गर्भवती थिए, कोही ले बुढी आमालाई उपचार गर्न ल्याएका थिए । कोही गाउँमा बस्न नसकी परिवार नै लिएर सुर्खेत झरिरहेका थिए । मैले उभिएका अनुहारहरु अझ हेर्दै गएँ , कोही गरीब छन्, कोही पारवारिक बोझ मुनि दबेका छन्, कोही रोगी छन् भने कोहीका साना साना बालबच्चा छन्। युनिफर्मभित्र रहेका सबै आत्माहरु मेरा आदेश पाउने बित्तिकै अज्ञात स्थानतिर बिना प्रश्न हेलिकोप्टरमा जान तयार हुन्थे, त्यो मलाइ थाहा थियो तर म यस्तो प्रहरी खोजिरहेको थिएँ ,जो त्यस मिशनमा सहिद भए पनि पारवारिक दायित्व अरुको भन्दा कम होस्, सके नहोस् ।

    आखिर मैले त्यस्तो प्रहरी कोही पाइन र फरक्क फर्की दुई वटा बन्दुक, पेस्तोलसमेत भिरेर आफैं हेलिकोप्टरभित्र छिरेँ।साथमा अर्को मानिस संचारको लिएँ र घटनास्थल उडेँ। मलाइ लाग्यो यी भन्दा त मरेँ भने पनि मेरो घरमा समस्या कम छ । काठमाडाैंमा घर र प्रशस्त पुग्ने पैत्रिक सम्पत्ति छ, मरिहाले भने पनि परिवार बाँच्न सक्छन् किनकि मैले परिवार पाल्नु पर्दैन। यसैले भित्र क्वाटरमा रहेकी श्रीमतीलाई पनि खबर नदिई म त्यो हेलिकोप्टरमा उडेँ।

    सुर्खेत र जाजरकोटको किनारमा अनकन्टार पहाड मुनि हेलिकोप्टरबाट हामीले घाइते सई सा’ब देख्यौं र उनलाई सिनेमामा देखिने गरेझैँ गरी हामीले रेस्क्यु गरी हेलिकोप्टर भित्र सुतायौं। ठाउँ नभएकाले हेलिकोप्टर फर्कने बित्तिकै हामी दुई जाना त्यही अनकन्टारमा छुट्यौं। त्यस दिन हामी दुई मर्न सकिन्थ्यो । तर भगवानका क्रिपाले बाँच्यौं। त्यही छुटेपछिका अप्रेसनका कथा अझै लामा र रोमान्चक छन् । अरु दिन लेखौंला। मुख्य कुरा भनेको हाम्रो पहलले विष्णु बाँचे । विष्णु त्यस एम्बुसबाट बँचेर परिवारसहित हाल अमेरिकामा छन्। मलाइ खुब सम्झन्छन्। म पनि उनलाई सम्झन्छु ।

    आज मैले यो प्रसंग किन लेखिरहेको छु भने, साधारणतया कमाण्डर आफैं युद्धमा जानु हुँदैन, तलकालाई पठाउनु पर्दछ तर त्यो थाहा पाएर पनि म त्यो मिशनमा हिँडे। त्यस दिन म मरेकै भए पनि सब मिलेर मलाइ नै बेवकुफ भन्ने थिए। सबले भन्ने थिए, “ कमाण्डर आफैं जान हुन्थ्यो ? तल्लालाई पठाउनु पर्ने थिएन? वा पूरा मद्धत नलिई जानुहुन्थ्यो ? बढ्ता भएको, तलकाहरु पनि सायद एक एसपी पद रिक्त भएकोमा खुसी नै हुन्थे होला । यी सब कुरा थाहा पाएर पनि म क्वाटर भित्र रहेकी श्रीमतीलाई समेत थाहा नदिई हेलिकोप्टरमा चढेकै हुँ र त्यस्को कारण एउटै थियो कि म मेरा मातहतका प्रहरी मरेको हेर्न चाँहदिन थिएँ। बरु आफैं मर्न तयार थिएँ । न म ती सहारा माग्ने सई विष्णुलाई नै मर्न दिन सक्थे न उनलाई बचाउन जानेकै ज्यान खतरामा हाल्न सक्थेँ । त्यसैले आफैँ हिँडे। मलाइ आफूसँग बस्ने तल्ला प्रहरीका यति धेरै माया लाग्थ्यो कि म सधैं तिनको रक्षा र उन्नतिका लागि जहाँ पनि लड्थें । लडीलडी पदोन्ति गराउँथे । तिनका लागि अडान लिन्थेँ । तिनका भलाइका बारेमा सोचिरहन्थेँ । त्यसैले होला आज पनि मसँग काम गर्ने तल्ला कर्मचारी र मेरा बीचमा आत्मीय सम्बन्ध छ केबल फुलीको सम्बन्ध होइन ।

    माथिका हाकिमहरुसँग भने मेरो भावनात्मक सम्बन्ध ज्यादै कम छ । कारण म माथिका मेरा कमाण्डरहरुले मैले जस्तो सोच्दैन थिए । ति मलाइ केबल मातहतको एक जागिरे ठान्थे र तिनलाई हामी कठिन अप्रेशनहरुमा गएको पनि कुनै भ्यालु थिएन। तिनलाई माया भन्ने थिएन केबल रोबर्टझैं मेरो सिपाही, मैले भनेको मान्नु पर्ने दास भन्ने मात्र थियो । ती हामीलाइ ह्वीस्कीको चुस्की लिँदै उडाउँथे, हाम्रा कुरा काट्थे र हामी तिनका माया पाउन सक्दैनथियाैं । माया पाउन गुटको सदस्य वा पैसा दिनुपर्दथ्यो।

    अझ दुःख यस कुराको लाग्छ कि मेरा माथिका कमाण्डर हाम्रै जागिर खान र हामीलाई नै षडयन्त्र गरी जेल हाल्न पहल गर्दथे । ९८% कमाण्डरहरु मैले मातहतलाई माया गर्ने देखिन । तिनका लागि हामी तलका प्रहरीहरु केबल नोकर चाकरझैं मात्र थियौं। तिनलाई हाम्रो जीवनप्रति कुनै संवेदना थिएन। हाकिमहरुको संवेदनहीनताका कारणले नै त होला, कसैले कसैलाई पद खाली राखी अवकास गराउन सकेका ?, कसैले कसैको षडयन्त्रमुलक ढंगले जागिर खान सकेका वा कसैले कसैलाई प्रमोसनमा छल गरी पछि पार्न सकेका ।? यसै संवेदनहीनताले त होला कसैले कसैलाई लगातार युद्धस्थलमा खटाउन सकेका, तिनका लागि कसैको परिवार, बिरामी आमाबाबु , सुत्केरी श्रीमतीको वा आफ्नो ज्यानको बाजी लगाई अप्रेशनमा जानेहरुको कुनै मतलब र अर्थ थिएन। उनीहरूलाई मतलव थियो केबल आफ्नो स्वार्थको।

    सायद मेरै जस्तो अनुभव र सोच, अरु प्रहरी अफिसर र कर्मचारीहरुको पनि हुनसक्छ । मेरो त यस्तै छ । मेरा बोस भएका अधीकांश हाकिमहरु प्रतिको मेरो दृष्टिकोण ठीक छैन । उनीहरूले म भन्दा फुली ठूलो भिरेका भए पनि मेरो उनीहरूप्रति माया र सम्मान छैन। त्यसैले म उनीहरुको छेउमा पर्दा अनुशासित पनि देखिन चाहान्न, किनकि हिजो अनुशासित हुँदा पनि त उनीहरूबाट म माथि अन्याय नै भएको थियो। यस्तै विचार आएर होला मलाई लाग्छ अबकाश पछि यी चीज गर्नु पर्ने पनि कुनै कारण छैन। दुबैले तलबका लागि जागिर खायौं र जागिर सकिएपछि आ–आफ्नो बाटो लाग्यौं। बस यत्ति रह्यो हाम्रो सम्बन्ध । माया प्रेम सद्भाव बिनाका सम्बन्ध यस्तै त हुन्छन् नि, जसरी जताततैबाट सडक खन्ने काममा आएका हजारौं मजदुरहरु दिनमा साथै हुन्छन् । तर घर फर्किएपछि कसैको कसैप्रति प्रेम हुँदैन।

    नयाँ पुस्ताका प्रहरी अफिसरहरुले यो कुरा राम्ररी बुझ्नु र तल्लालाइ प्रेम गर्नु, तिनका बारेमा मनबाटै चिन्ता गर्नु, तिनका योगदानको खुलेर प्रशंसा गर्नु र तिनको रक्षा र उन्नतिका लागि ठाउँमा लड्नु, ती कदापि बिग्रन नपाउन्। तीमाथि अन्याय हुन नदिउँ किनकि ती हाम्रा आदेशमा मर्नसम्म तयार हुने साथी हुन्। ती केबल रोबर्ट राइफलम्यान होइनन् आत्मा हुन् । तिनीहरुका बारेमा मात्र होइन तिनका बुढी आमा र सुत्केरी श्रीमतीको कल्याणका बारेमा पनि चिन्ता र चासो प्रकट गरौं ।

    ब्रिटेनकी महारानीले भारतबाट पठाएको एक नौकरलाइ कतिसम्म प्रेम गर्थिन ? यो भिडियो हेरौं ।प्रेममा ठूलो शक्ति छ चाहे हाकिम र तलका बीचमा होस् वा साथी साथीमा । यी त्यही नोकर अब्दुलको सत्य कथा हो जसको आग्रामा रहेको उनको मजारमा ( गाडिएको स्थान) बेलाएती हरुले छाता बनाए र उनलाई सम्मान साथ सदगत गरे ।

    प्रहरीमा एक आपसमा प्रेमको कमी छ ।

    आज शनिबार शुभ रहोस् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय