एजेन्सी। विश्वका धनी देशहरुको संगठन जी–७मा आबद्ध देशहरु कोरोना महामारीको अवस्था दोहोरिन नदिन कार्ययोजना बनाइरहेका छन्।
जी–७ को घोषणापत्रमार्फत धनी देशका नेताहरुले कोभिड–१९ र यस्ता महामारीबाट यस प्रकारको क्षति नदोहोरिने सुनिश्चितता गर्न सबै स्रोत परिचालन गर्ने बाचा गर्दैछन्।
कोर्न्वलमा जारी जी–७ सम्मेलनको दोस्रो दिन जारी हुने घोषणापत्रमा सो उद्देश्य हासिल गर्न चरणबद्ध उपायहरू उल्लेख रहनेछन् । खोपको विकास गर्न आवश्यक समयलाई १०० दिनभित्र झार्ने उनीहरूको लक्ष्य छ।
शुक्रवार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गरेका थिए।
जोनसनले सन् २००८ को आर्थिक संकटका गल्तीबाट सिक्दै असमानतासँग जुझ्नुपर्ने आवश्यकता औंल्याएका थिए।
विश्वका उन्नत अर्थतन्त्रहरू क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, संयुक्त अधिराज्य र अमेरिकासहित युरोपेली संघका शीर्ष नेताहरु सहभागी नेताहरुले महामारी नियन्त्रणको सामूहिक प्रतिबद्धता जनाउँन लागेका हुन्।
शनिबारको विशेष सत्रपछि नेताहरूले कर्बिस बे घोषणापत्र जारी गर्नेछन्। जसमा कोभिड–१९ का कारण क्षतविक्षत भएका मानवीय र आर्थिक हानीको पुनरावृत्ति नहुने प्रयासस्वरूप योजनाहरू समेटिनेछन्।
महामारी सुरु भएयता विश्वभर साढे १७ करोड मानिसहरू कोरोनाभाइरसबाट संक्रमित हुनुका साथै ३७ लाखभन्दा धेरैले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ।
खोपको विकास र अनुमति दिने समय घटाउँदै भविष्यमा देखा पर्ने कुनै रोगको पहिचान र उपचारलाई सय दिनभित्र सीमित पार्ने, विश्वव्यापी निगरानी सञ्जाल र जिनोमिक सिक्वेन्सिङ्ग क्षमतालाई थप सबल बनाउने, विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई सुधार गर्दै थप बलियो बनाउन सहायता गर्ने जस्ता बुँदा घोषणापत्रमा समेटिनेछन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।