काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।
शनिबार प्रदेश सभाको बैठकमा सभामुखसँग समय मागेर बोल्दै उनले आफूले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।
वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफूले हत्या हिंसामा विश्वास नगर्ने बताए ।
उनले आफूले संसदीय मर्यादाबाहिर गएर बोलेको महसुस गरेको भन्दै आत्मालोचनासहित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए । उनको आग्रहपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको भन्दै त्यसका लागि आफू गोड्से बन्न पनि तयार रहेको बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।