काठमाडौं । २१ जेठमा सुर्खेतमा लोपन्मुख राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ ग¥यो ।
पक्राउ पर्नेमा सोही नगरपालिकाका ३५ वर्षका दमन घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटेल सञ्चालक विनोद पुन थिए । उनीहरुविरुद्ध प्रहरीले बलात्कार अभियोगमा मुद्दा चलाएको छ ।
उनीहरुले राउटे समूदायका दुई जना युवतीलाई सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना बजारको एक होटेल ल्याएर मादक पदार्थ सेवन गराएर यौन दुर्व्यवहार गरेका थिए ।
जसको युवाहरु आफैले भिडियो समेत बनाएर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जुन अहिले भाइरल नै भएको छ । भिडियो भाइरल भएपछि तीनै जना युवालाई प्रहरीले पक्राउ गरेको हो । युवती माथिको यौन दुर्व्यवहार को घटनाले जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई हेरिएको छ ।
कतिपयले भने राउटेलाई आधुनिक युगमा ढाल्नु, उनीहरुको मौलिक पहिचान र परम्परामा अतिक्रमण गर्न खोज्दा उक्त घटना भएको बताएका छन् ।
सुर्खेत प्रहरीका अनुसार तीन जना युवाहरुले राउटे युवतीलाई मदिराको प्रलोभन देखाएर होटलमा ल्याएको र मदिरा सेवन पछि यौन हिंसा गरेको बताएको छ । काठको झुमामा करिब तीन महिनासम्म अन्न कुहाएर चाडपर्वमा जाँड बनाएर खाने राउटे समुदाय हिजोआज चौबीसै घण्टा मदिरा पिउन थालेको पनि सुर्खेच प्रहरीको भनाइ छ ।
सुर्खेतका स्थानीय कबिर शाहीका अनुसार राउटेलाई सहयोगमा नाममा आवश्यकताभन्दा बढी सहयोग गर्दा उनीहरुले त्यसैलाई विक्री गरेर मदिरा पिउन थालेका हुन् ।
पछिल्लो सयम राउटे समुदायका स–साना बालबालिकादेखि गर्भवती महिलासमेतले मदिरा पिउने गरेको उनको भनाइ छ । प्रहरीले समेत उनीहरुमाथि यौन हिंसा हुनुको मूख्य कारण मदिराकै प्रलोभनमा भएको जनाएको छ । युवाहरुले बनाएको भिडियोमा युवती मदिराले लट्ठै परेको देखिन्छ ।
राउटे बस्ती प्रवेशमा निषेध
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीमा असुरक्षा बढेको भन्दै कसैलाई समेत प्रवेश गर्न दिएको छ्रैन् । बस्तीमा कसैलाई पनि आउजाउ गर्न नदिने उद्देश्यले गत सातादेखिनै प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको भनाइ छ ।
राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे समुदायलाई जंगलको राजा भन्ने गरिन्छ । कुनै बेला काठका भाँडाकुँडा बनाएर तिनलाई बेचेर जीविकोपार्जन गर्दथे ।
तर, पछिल्लो समय राउटेलाई परिर्वतनका नाममा एनजीओ÷आईएनजीओहरुले विभिन्न सहयोग गर्दै आएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।