काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ ।
रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् भने विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय निर्धारण गरिएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो ।
इजलासले नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च बार एशोसिएसनबाट २ जना गरी ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि मागेको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा बहसको समय पाउनेछन् ।
यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट पेश गर्न पनि इजलासले आदेश दिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।