• लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि ट्रमा सेन्टरसम्म

  • बुटबल। लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेका छन्।

    प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रुपन्देहीको बुटवल रहेको रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण सम्पन्न गरी यस वर्षदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइने उल्लेख छ।

    पार्कलाई आगामी पाँच वर्षभित्र राष्ट्रको महत्वपूर्ण प्राणी उद्यान र पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उल्लेख छ।

    नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नयाँ पर्यटकीय उपजसहितको पर्यटन विकास कार्यक्रम तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका माध्यमबाट प्रदेशमा परिमाणात्मक तथा गुणात्मक रुपमा पर्यटक आकर्षण गर्ने नीति लिइनेमा नीति कार्यक्रममा जोड दिइएको छ।

    विश्वसम्पदा सूचीमा परेका र प्रसिद्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा जैविक विविधतासमेतका दृष्टिले मनोरम प्राकृतिक क्षेत्र, हिलस्टेशन, गुफा, पाटन, तालतलैया, झरना, गढी, दरबार जस्ता महत्वपूर्ण स्थानको पर्यटन प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिँदै नीति कार्यक्रममा महत्त्वपूर्ण सम्पदाको जीर्णाेद्धार तथा संरक्षण एवम् अध्ययन, अनुसन्धान र अभिलेखीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पाल्पाको श्रीनगर, रोल्पाको होलेरी र अर्घाखाँचीको नरपानीमा हिलस्टेशनको आवश्यक पूर्वाधार निर्माण आरम्भ गरिनेछ भने घरबासको विकासमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गरिने र स्थानीय संस्कृति, भेषभूषा, मौलिकता र परम्परागत पेसा, जैविक तथा घरेलु उत्पादनसँग आबद्ध गर्न घरबास सञ्चालकको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने छ।

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी क्षेत्र पर्यटनको अन्तराष्ट्रिय गन्तव्य बन्ने सम्भावनालाई दृष्टिगत गरी पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ।

    साहित्य, कला, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै संग्रहालयलाई जानकारीमूलक र व्यवस्थित बनाउँदै लगिनेछ। त्यस्तै थारु संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्‍याउने उद्देश्यले दाङमा “बडघर” स्थापना गरिने नीति कार्यक्रममा समावेश छ।

    कोभिड–१९ लगायत महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको व्यवस्था गर्दै लगिने छ भने विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गरिने नीति लिइनेछ।

    आपत्कालीन अवस्थाका गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने छ। जोखिममा रहेका दुर्गम क्षेत्रका गर्भवतीलाई निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने छ। प्रदेशमा सुविधासम्पन्न प्रसूति अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा जनाइएको छ।

    लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा समावेश गरी यी अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिने र दाङको लमहीमा आधुनिकस्तरको ट्रमा सेन्टर स्थापना गरिने छ। प्युठान तथा गुल्मी अस्पतालमा डायलासिस सेवा विस्तार गरिने छ।

    प्रदेशको विकासका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, वन, कृषि, सूचना प्रविधि र इञ्जिनीयरिङलाई प्राथमिकतामा राखी प्रदेशको पूर्ण स्वामित्वमा बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गरी प्राविधिक विषयमा पठनपाठन सञ्चालन गरिने र प्रदेशको आवश्यकताका आधारमा प्राविधिक विषयमा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी गरिनेछ।

    विज्ञान–प्रविधि, अनुसन्धान तथा विकास, सीप विकास, सीप तथा सीपमूलक तालीमको नियमन, बहुप्राविधिक शिक्षालयको व्यवस्थापनका लागि प्रदेश सरकारको स्वामित्वमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय