• माधव नेपाल समूहले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने, ओलीको प्रस्ताव गलत मनसायले आएको निष्कर्ष

  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता नलिने भएको छ ।

    आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावमा नेपाल समूहको मागअनुसार पार्टीलाई ३ जेठ, २०७५ को अवस्थामा फर्काउने र त्यसका लागि आफ्नो सट्टा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा हालेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन्।

    नेपाल समूहले ओलीले गरेको पार्टी एकताको प्रस्ताव गलत मनासयले आएको निष्कर्ष निकालेको छ ।

    आइतबार ओलीले राखेको ६ बुँदे प्रस्तावबारे धारणा बनाउन बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता र संसद विघटन अलगअलग मुद्दा भएको निष्कर्ष निकालेको छ ।

    पार्टी एकतासम्बन्धी प्रस्तावमा सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट राखिएको निष्कर्ष बैठकले निकालेको हो । प्रतिनिधिसभा विघटन गलत भएको नेपाल समूहको ठहर छ ।

    संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सर्वोच्च गएको भन्दै नेपाल समूहका नेताहरुले संसद विघटन गलत हो भन्ने पुष्टि नभएसम्म हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय