• कोरोना सङ्क्रमणको अनुपातमा घटेन मृत्युदर

  • धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृत्युदर घट्न सकेको छैन।

    स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार गत साता प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

    सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो।

    सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो।

    यस्तै गत साता सात हजार ६१ जना उपचारपछि घर फर्किएका छन्। अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको भएका थिए।

    निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ।

    प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस