• अर्थतन्त्रको भविष्यका लागि डिजिटल भुक्तानी : गर्भनर अधिकारी

  • काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताए।

    मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा सुरू भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को उद्घाटन गर्दै (वेवीनार मार्फत) उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए।

    डिजिटलाईजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राखेकाे बताए।

    बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गर्भनर अधिकारीले आर्थिक क्षेत्रमा डिजिटल सेवा बढाउनुपर्ने बताए।

    गर्भनर अधिकारीले अहिले चिया पसलदेखि इरेक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए ।

    वित्तीय साक्षरतालाई डिजिटल्ली रुपमा लैजानुपर्ने भन्दै उनले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए। उनले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताए ।

    गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पुर्‍याउने बताए।

    उनले फाइनान्सियल सेक्टर विद्युतीय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताए । नेपाल राष्ट्र बैंक डिजिटलाईजेशनका निम्ति दत्तचित्र भएर लागेको उनको भनाइ छ।

    गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलब्ध गराउन आग्रह गरे।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको धेरै नै महत्व हुने उनको भनाइ छ।

    फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्वमन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

    टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ छ।

    बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे।

    कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए। अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झिराखेमा डाइनोसर नै हुने उनको बुझाइ छ। उनले बैंकहरुले फिजिकल सेवा भन्दा पनि डिजिटल मार्फत सेवा दिनुपर्ने बताए।

    नेपाल बैंकर संघका पूर्वअध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताए। उनले डिजिटलाइजेशनमार्फत थालिएको वित्तीय साक्षरकताले आउने दिनमा अर्को फड्को मार्ने बताए।

    कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष प्रद्युमन पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । उनले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बनाए ।

    लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँगाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए।जीवन बीमक संघका कोषाध्यक्ष प्रवीणरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए।

    त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटलाईजेशनका लागि महत्वपूर्ण काम गर्दै आएको बताइन्। उनले बैंक,वित्तीय सेवामा डिजिटलाईजेशनको अनिवार्य आवश्यकता देखिएको बताइन्।

    त्यसैगरी आइएमईका सीइओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमा गाउँमा कसरी पुर्‍याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए। उनले फाइनान्सियल डिजिटलाइजेशनमार्फत डिजिटल कारोबार वृद्धि हुने अपेक्षा गरे।

    नेपाल क्लियरिङ हाउसका सीइओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटलाईजेशनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रियस्तरकै पूर्वाधारहरु रहेको बताए । उनले डिजिटलाईजेशनमा काम गर्नका लागि इन्फास्टक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमा जान कति अटोमेट छ भन्ने कुरा नै महत्वपूर्ण हुने बताए।

    एससिटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहतमा पुगेको भन्दै टेक्नोलोजिमा सबैलाई जोड्न आवश्यक रहेको बताए।

    कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडका कारण डिजिटलको आवश्यकता झनै बढेको बताए।

    फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रका कोडिनेटर माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसीलाई सबै जिल्ला र स्थानीय तहमा संचालन गरिने बताउँदै डिजिटल कारोबार विना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको बताए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस