• कोरोना निको भएको कति समयसम्म ढुक्क ? यस्तो भन्छ अनुुसन्धान

  • लन्डन/एजेन्सी । एकपल्ट कोरोना संक्रमण निको भएपछि कति समयसम्म फेरि कोरोना संक्रमण हुँदैन ? कारोना संक्रमणले विश्व नै आजित भइरहेका बेला धेरैले सोध्ने प्रश्न हो यो । हुन पनि कोरोना संक्रमणबाट पार पाएको केही समयपछि पुनः संक्रमणले छुन थालेको छ ।

    कोरोना संक्रमणबाट अनेकौं हन्डर खाएर मृत्युको मुखबाट जोगिएकाहरू फेरि यो संक्रमणले नछोओस् भनेर कामना नै गर्छन् । संक्रमणबाट बच्न अनेकौं सावधानी पनि अपनाउँछन् । तर, त्यस्तो हुँदैन । पुनः संक्रमणले सताउँछ ।

    पहिलोपटक भएको संक्रमण निको भएका कतिपय मानिस दोस्रोपटक पनि संक्रमित भएको पाइएकोबारे बेलायतका वैज्ञानिकले अनुसन्धान गरेका छन् । बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताले गरेको अनुसन्धानबारे जर्नल लान्सेट हेल्दी लंगेभिटीमा प्रकाशित भएको छ ।

    अनुसन्धानका क्रममा गत वर्षको अक्टोबर र यस वर्षको फेब्रुअरीसम्म इंग्ल्यान्डस्थित हेरचाह केन्द्र (केयर होम) मा रहेका २ हजारभन्दा बढी व्यक्तिलाई समावेश गरिएको थियो । अनुसन्धानको निष्कर्ष यो छ कि एकपल्ट कोरोना संक्रमण निको भएपछि १० महिनासम्म यो भाइरसले आक्रमण गर्न सक्दैन ।

    एन्टिबडी जाँचबाट पहिले संक्रमण भएर निको भएको पुष्टि भएका व्यक्ति १० महिनासम्म कोरोनाबाट सुरक्षित रहेको अनुसन्धानमा पाइएको जनाएको छ ।
    अध्ययन क्रममा पछिल्ला चार महिनायता कोरोना संक्रमण भएका व्यक्तिमध्ये पहिले कोरोना भइसकेका व्यक्ति ८५ प्रतिशत कम पाइएको पनि खुलेको छ ।

    यूसीएलकी स्वास्थ्य सूचना विज्ञान संस्थान अध्ययनकी मुख्य लेखिका मारिया क्रुतिकोभ यसलाई निकै राम्रो खबरका रूपमा आफूले लिएको बताउँछिन् । उनले कोरोनाबाट एकपल्ट संक्रमित भइसकेका व्यक्तिमा देखिएको उच्चस्तरको प्रतिरक्षा क्षमता ढुक्क गराउने खालको पाइएको पनि बताएकी छन् । तर, उमेर अलि बढी भएका व्यक्तिमा यस्तो शक्ति कम हुन सक्ने अनुसन्धानको निष्कर्ष रहेको पनि उनले बताएकी छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय