काठमाडौं । विपक्षी गठबन्धनले चुरे क्षेत्रको गिट्टी, बालुवा र ढुंगा भारतमा निकासी गर्ने सरकारको निर्ण सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहितविरोधी कदम भएको बताएको छ । गठबन्धनले आज एक विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
गठबन्धनका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेटको घोषणाको विरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमीकरण गर्ने र त्यहाँका बासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो ।’
कांग्रेस सभापति शेबरहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो ।’
विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा रहेको समयमा कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेकोमा पनि विरोध गरेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।