काठमाडौं । युरोकप सुरु हुनुअघि भएका मैत्रीपूर्ण खेलमा विश्व विजेता फ्रान्स र इंग्ल्यान्ड विजयी भएका छन् । गएराति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० ले हराएको छ ।
युरोकप सुरु हुनुअघि तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा सीमित वेल्समाथि सहज जित निकाल्यो ।
खेलको २६औं मिनेटमा वेल्सका नेको विलियम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनले पेनाल्टी क्षेत्रमा ह्याण्ड बल गरेपछि रातो कार्ड पाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
तर २०१५ अक्टोबरपछि पहिलो पटक फ्रान्सेली टिममा बोलाइएका करिम बेन्जिमा गोल गर्न चुके । उनको प्रहार वेल्सका गोलकिपर डानी वार्डले बचाएका थिए ।
खेलको ३५औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा अग्रता दिलाए ।
दोस्रो हाफमा फ्रान्सले दुई गोल गर्यो । ४८औं मिनेटमा एन्टोनी ग्रीजमन र ७९औं मिनेटमा उसमान डेम्बेलेले गोल गरे । युरोकपको समूह एफमा रहेको फ्रान्सले साविक विजेता पोर्चुगलसँगै जर्मनी र हंगेरीको सामना गर्नुपर्नेछ ।
यस्तै अर्को खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले पराजित गरेको छ । इंग्ल्याणडका लागि बुकाया साकोले ५६औं मिनेटमा गोल गरे ।
जर्मनी भने डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको छ । फ्लोरियन नेउहाउसले ४८औ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए पनि ७१औं मिनेटमा युसुफ पाउलसेनले डेनमार्कका लागि बराबरी गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यस्तै मेम्फिस डिपाएको दुई गोलको मद्दतमा नेदरल्याण्डले दुई पटक पछि परेको अवस्था उल्टाउँदै स्कटल्याण्डसँग २–२ को बराबरी खेलेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।