• नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित, नेफ्टाली नयाँ प्रधानमन्त्री बन्ने

  • एजेन्सी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने निश्चित भएको छ ।

    विपक्षी गठबन्धनमा नयाँ सरकार गठनका विषयमा सहमति भएपछि उनको बिदाईको बाटो खुलेको हो । नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेता हुन् र पछिल्लो १२ वर्ष देशको राजनीति उनकै वरिपरी घुम्यो ।

    मार्चमा भएको निर्वाचनमा उनको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई अन्य सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।

    उनीहरुले बुधबार मध्यराति सम्म बहुमत साबित गर्नुपर्ने थियो र समयसीमा समाप्त हुनुअघि नै विपक्षी नेता येर लेपिडले ८ दलबीच गठबन्धन सरकार बनाउने सहमति भएको बताएका हुन् ।

    गठबन्धन सरकार बनाउने सहमतिसँगै इजरायलमा लामो समयदेखिको राजनीतिक अन्योलता अन्त्य भएको छ । सरकार बनाउने सहमति नहुँदा दुई वर्षभित्र पाँचौपटक निर्वाचन गराउनुपर्ने अवस्था आउन लागेको थियो ।

    गठबन्धनका लागि सम्झौताअनुसार पालैपालो दुई नेता प्रधानमन्त्री बन्नेछन् । पहिलो पटक दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्नेछन् ।

    उनी २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् । उनले २०२३ को २७ अगस्टमा मध्यमार्गी येश एडिट पार्टीका नेता येर लेपिडलाई गठबन्धन सरकारको नेतृत्व हस्तान्तरण गर्नेछन् ।

    संसदबाट विश्वासको मत लिएपछि मात्रै शपथ हुने भएकाले राष्ट्रपतिले संसदको नयाँ अधिवेशन बोलाउन आव्हान गरेका छन् । विपक्षी नेता लेपिडले राष्ट्रपतिलाई गठबन्धनबारे सहमति भएको जानकारी गराएपछि उनले विश्वासको मतका लागि संसद बोलाउन आव्हान गरेका हुन् ।

    १२० सिटको इजरायली संसद नेसेटमा विपक्षी गठबन्धनले बहुमत पुष्टि गर्न नसकेमा भने नयाँ निर्वाचनमा जानुपर्ने अवस्था आउनेछ । इजरायलको नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी पार्टी सामेल छन् । यी सबै पार्टीमा राजनीतिक रुपमा धेरै कम समानता भएपनि नेतान्याहुलाई हटाउन एकठाउँ उभिएका हुन् ।

    लामो समयसम्म इजरायलको राजनीतिमा दबदबा कायम गरेका ७१ वर्षीय नेतान्याहुले घुसखोरी र धाँधलीको आरोपको सामना गर्नुपरेपनि गत मार्चमा भएको निर्वाचनमा बहुमत ल्याउन सकेनन् भने गठबन्धन निर्माणमा समेत सहयोगी दलको समर्थन पाएनन् ।

    दुई वर्षदेखिको राजनीतिक अस्थिरताबीच इजरायलमा ४ पटक निर्वाचन हुँदा समेत स्थिर सरकार निर्माण हुन सकेन भने नेतान्याहुलाई हटाउन विपक्षी गठबन्धनले सकेका थिएनन् । नेतान्याहुले पनि बहुमत साबित गर्न सकेनन् ।

    नेतान्याहुले बहुमत देखाउन नसकेपछि विपक्षी नेता येर लेपिडलाई सरकार बनाउन २८ दिनको समय दिइएको भएपनि गाजा क्षेत्रमा भएको संघर्षको प्रभाव परेको थियो । संघर्षका कारण उनको सम्भावित सहयोगी अरब इस्लामिस्ट राम पार्टीले गठबन्धनका लागि जारी वार्ताबाट बाहिरिएको थियो ।

    प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीच ११ दिनसम्म चलेको युद्धका क्रममा इजरायलमा रहेका यहुदी र अरबी समुदायबीच समेत संघर्षको अवस्था सिर्जना भएको थियो । इजरायलको समानुपातिका प्रतिनिधित्वका कारण चुनावी प्रक्रियाबाट कुनै एक दललाई बहुमत जुटाउन कठिन हुनेगर्छ ।

    यस्तो अवस्थामा साना पार्टीको महत्व बढ्छ र सरकार गठनमा निर्णायक बन्छन् । १२० सिट भएको इजरायली संसदमा नेफ्टाली बेनेटको पार्टीको केबल ६ सांसद मात्रै छन् ।

    तर विपक्षीलाई स्पष्ट बहुमतका लागि उनको भूमिका महत्वपूर्ण बन्न गयो । जसका कारण विपक्षी उनैलाई प्रधानमन्त्री दिएर नेतान्याहुको विकल्प खोज्ने निष्कर्षमा पुगेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय