• यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । देशका विभिन्न स्थानमा आज (सोमबार) पनि वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि पूर्ण बदली रहँदा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशकको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस