

बुटवल, — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन्।
शनिबार बुटवलमा आयोजना गरिएको जितगढी उत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारसँग समन्वय गरेर यो ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने स्पष्ट पारे।
उक्त अवसरमा उनले नेपाल–अंग्रेज युद्धका वीर योद्धा कर्णेल उजिरसिंह थापालाई ‘राष्ट्रिय सपुत’ घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने प्रतिबद्धता पनि जनाए।
मुख्यमन्त्री आचार्यले भने, “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ। राष्ट्रप्रति देखाइएको समर्पणको भावना र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ। त्याग र समर्पणलाई हामी कहिल्यै भुल्न सक्दैनौँ।”
उनले आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई हराउन सफल भएको उल्लेख गर्दै भने, “उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ।”
मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने सरकारको योजना दृढताका साथ कार्यान्वयन गरिने जानकारी पनि दिए। स्थानीय सरकारसँग साझेदारी गर्दै बनाइएका योजनाहरू प्रभावकारी रूपमा लागू गरिने बताए।
उत्सवमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न र उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे। संघीय सरकारले पनि जितगढी उत्सवलाई अपनत्व लिनुपर्ने धारणा राख्दै उनले प्रदेश र संघीय सरकारसँग सहकार्यको इच्छा व्यक्त गरे।
कार्यक्रममा उपमेयर साबित्रादेबी अर्याल, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, इतिहासविद् देबेन्द्रराज शाक्य लगायतले जितगढीको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पारे।
जितगढी किल्लामा वि.सं. १८७२ साल वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अंग्रेज सेनामाथि ऐतिहासिक विजय हासिल गरेको थियो। त्यसको सम्झनामा बुटवल उपमहानगरले प्रत्येक वर्ष ‘जितगढी उत्सव’ मनाउँदै आएको छ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कलाकारहरूले देशभक्ति गीत र नृत्यमार्फत वातावरण झनै उत्साहपूर्ण बनाएका थिए।
त्यसैगरी, गढी र किल्लाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गोरखाबाट सुरु भएको ‘जितगढी पदयात्रा’ टोलीलाई पाल्पाको नुवाकोटमा स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा उपमेयर अर्याल, प्रमुख जिल्ला अधिकारी घिमिरे र सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
