

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुनेछ । ‘अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छ भने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट संख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो । उडान र सिट संख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।
‘यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवद्र्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ’, कम्पनीले भनेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
