• सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

  • काठमाण्डौ – सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ ।

    एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई समर्थन गरेका छन् । तर एकीकृत समाजवादीविना सुदूरपश्चिममा सरकार बन्न नसक्ने, अरू प्रदेशमा पनि गठबन्धनका सरकार ढल्न सक्ने र सङ्घीय सरकारलाई समेत असर पर्ने भएकाले गठबन्धनका दलहरूले मध्यमार्गी बाटो खोज्ने भएका हुन् ।

    आज बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा लचकता देखाउनुभएको छ । मुख्यमन्त्रीमा नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनसँग गरेको विद्रोहबाट पछाडि फर्किनेछ ।

    यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।

    एकीकृत समाजवादीलाई केही समयका लागि मुख्यमन्त्री दिएर अहिलेको सङ्कट टार्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक हुनुभएको छ । तर नागरिक उन्मुक्तिका सात जनामध्ये धेरैजसो सांसद रेशम चौधरी गुटमा रहेका छन् । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्श गरिरहनुभएको छ ।

    ५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस