• एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

  • काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज (शनिबार) नेपालले कतारसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि नेपाल र कतारबीचको खेल सुरू हुनेछ ।

    नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरिसकेको छ । शुक्रबार नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । १० टिम सहभागी प्रतियोगिताको नेपाल साविक विजेता हो । नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्ने छ ।

    समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने छन् । प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।

    नेपाली टिम :
    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस