• सभामुखको टोली जेनेभाबाट फर्कियो

  • काठमाण्डौ – स्विट्जरल्यान्डकाे जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किएको छ ।

    ९ दिन लामो भ्रमण सकेर स्वदेश फकिर्ने क्रममा सभामुख घिमिरेले अन्तर–व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताउनुभयो ।

    नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखापरिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढङ्गबाट संसद्ले खेल्ने भूमिकाबारेमा कुरा उठाएको सभामुखकाे भनाइ छ । सभामुख घिमिरेले अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता देशहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको पनि बताउनुभयो ।

    सभामुखसहितको टोली एक हप्ताअघि गएको बिहीवार जेनेभा गएको थियो । सभामुख घिमिरेको टोली ९ दिन लामो भ्रमणमा गएपछि प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको थियाे । अब संसदीय गतिविधि तीव्ररूपमा अघि बढ्ने सभामुखले विश्वास व्यक्त गर्नुभएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस