• प्रकृतिको मृत्युमा उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कारबाही हुन्छ : भारतीय दूतावास

  • काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

    ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै सदस्य छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ । समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ ।

    ‘कलेजमा प्रर्दशन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ’, विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’

    विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् ।

    उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।

    यस्तै प्रकृति लम्सालको मृत्युबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति गठन गरिएको र उक्त समितिको निष्कर्षका आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने नेपालस्थित भारतीय दूतावासले बताएको छ । मंगलबार साँझ दूतावासले एक विज्ञप्ति जारी गरी उक्त घटनाको छानबिनमा भारत सरकारका सबै निकायले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी पनि दिएको छ । प्रकृतिको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिशा सरकारका अधिकारीहरू र केआईआईटीसँग निरन्तर सम्पर्क गरिरहेको पनि काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय