• लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

  • गुल्मी । गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको छ । लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल हो ।

    विश्व स्वास्थ्य सुंगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । कार्यक्रमका अवसरमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम कार्यान्वयन अन्तरगत अनुगमन, मुल्यांकन तथा समीक्षा र नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान समेत सुरु गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेहि हुने गरि र जनताले सरकारको महसुस गर्ने गरि काम गरिरहेको बताउनुभयो । उहाँले ५५ बुँदे लक्ष्यका साथ सुसासन कायम गर्न स्वास्थ्य मन्त्रालय लागिपरेको बताउनुभयो । मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जिपीएस जडान गर्ने, शुल्क सहितको नागरिक वडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको नाम देखिने गरि प्राईभेट अस्पतालहरुको बोर्डमा नाम राख्ने काम बन्द गर्नेलगाएतका कामहरु सुरु गरेको र यसको प्रभावकारीता सकारात्मक देखिएको बताउनुभयो ।

    लुम्बिनी प्रदेशसभा सदस्य तथा अस्पतालका संस्थापक अध्यक्ष डिल्लीराज भुषालले २०५१ सालदेखि अस्पतालको विकास क्षेत्रमा सहकार्य गर्दै आईरहेको बताउनुभयो । उहाँले अस्पतालको भौतिक निर्माण गर्न निकै दुख गरेर बजेट विनियोजन गरेपनि निर्माण व्यवसायीले ढिलो काम गर्दा समस्या भएको बताउनुभयो । भुषालले ग्रामिण क्षेत्रका पहाडी जिल्लाका अस्पतालहरुमा डाक्टर आउन नमान्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव व्यक्त गर्नुभयो ।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बासुदेव उपाध्यायले दुर्गम जिल्लाका अस्पतालमा जनशक्ति पुर्याउन समस्या रहेको बताउनुभयो । उहाँले कार्यालयलाई पेपरलेश र क्यासलेश बनाउने विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले २ महिना भित्र अस्पताल निर्माण सक्न ताकेता गरिरहेको बताउनुभयो । उहाँले योजना निर्माणसंगै नतिजामुखि कार्यसम्पादनको आवश्यकता भएको बताउनुभयो ।

    स्वास्थ्य निर्देशनालयका बरिष्ट जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम छ भन्ने भान भएको बताउनुभयो । उहाँले अस्पतालको थप विश्वसनियता बढाउन विकास समितिले सेवाको गुणस्तरीयतालाई प्रमुख रुपमा ध्यान दिएर योजना बनाउनुपर्ने बताउनुभयो ।

    गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट तथा कार्यालय प्रमुख बैभव बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफुले दिने सेवामा के कमजोरी छ र कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताउनुभयो । ५० शैया रहेको गुल्मी अस्पतालमा अर्घाखाँचील, प्यूठान, बाग्लुङगाएतका छिमेकी जिल्लाका बीरामीहरुले समेत सेवा लिने बस्यालले बताउनुभयो ।

    कार्यक्रममा अस्पताल विकास समितिका पुर्व अध्यक्ष शेर बहादुर थापाले नीतिगत रुपमा ग्रामिण क्षेत्रमा डाक्टरहरु बस्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा आउने बीरामीहरुमा जनचेतना फैलाउन नसकेका कारण अस्पतालको सेवा प्रवाह असहज भएको बताउनुभयो । थापाले डाक्टरहरुको सुरक्षाको लागि लुम्बिनी प्रदेशले विशेष कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा डा. मोहम्मद नुरुलले अस्पतालमा उत्प्रेरित र गतिशिल कर्मचारीहरुको कारणले सेवाग्राहीहरुको चाप बढ्दो रुपमा रहेको बताउनुभयो । उहाँले निर्माणाधिन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाहमा थप सहज हुने बताउनुभयो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकारहरु, नागरिक समाज तथा सरोकारवालाहरुले अस्पतालको विकास र सेवा प्रवाहका विषयमा आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालको सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।

    गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरिय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले समग्र गुल्मी बासिन्दाहरुको लागि गुल्मी अस्पतालले प्राथमिकताका साथ योजना बनाएर काम गर्ने बताउनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय