• नियमित औषधि खानेहरुमा क्षयरोग निको हुने दर ९५ प्रतिशतभन्दा धेरै

    २०८० चैत्र ११, आईतवार १२:५६ मा प्रकाशित
  • काठमाण्डौ – उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने भएकोले उपचार प्रक्रियामा जान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । कुनै पनि दिन नछुटाइकन ६ देखि ८ महिना औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताउनुभयो ।

    अहिले नेपालमा नियमित औषधि खानेमध्ये ९५ प्रतिशतभन्दा धेरैमा क्षयरोग पूर्ण रुपमा निको हुने गरेको छ । क्षयरोगको जाँच र औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सामान्य भाषामा टीबी भनिने यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमले बताउनुभयो । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई यो रोग सर्न सक्छ ।

    मुख्यगरी फोक्सो र फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन अङ्ग, छाला, आँखा र टाउको लगायतमा पनि यसको सङ्क्रमण हुन्छ । क्षयरोगको लक्षण अङ्ग अनुसार फरक भए पनि सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने तिवारीले बताउनुभयो ।

    आज ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइदैछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ ।  

    सिफारिस