• हामीले हाम्रो देश आफै बनाउन लाग्नु पर्छ, लागेपछि नेपाल बन्छ : प्रधानमन्त्री

  • कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे ।

    उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए । प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।

    ‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नु पर्छ । लागेपछि नेपाल बन्छ ।’

    प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए ।

    कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह (अर्थाेपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे ।

    विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए । प्रतिष्ठानकाा उपकुलपति प्रा डा. डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शैंयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय