• एमाले वैठक : तीन नेतामाथिको कारवाही सच्याउन दुई एमाले केन्द्रीय सदस्यको आग्रह

  • काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्व उपाध्यक्ष भीम रावलसहित तीन नेतामाथि गरिएको कारबाहीको निर्णय सच्याउन आवाज उठेको छ ।

    आइतबारको बैठकमा पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनु पर्ने आवाज उठेको हो । केन्द्रीय सदस्यहरू झपट रावल र प्रकाश शाहले सो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए ।

    गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । शाहले पार्टी सभापतिमा हारेका व्यक्तिलाई कांग्रेसमा शेरबहादुर देउवाले राष्ट्रपति बनाएको उदाहरण दिँदै भीम रावलमाथिको निष्कासन पुनर्विचार गर्न आग्रह गरे ।

    त्यस्तै झपट रावलले पार्टीमा रावलमाथिको कारबाहीको असर देखिन थालेको बताएका थिए । अरु सदस्यहरुले भने रावलमाथिको कारबाहीबारे आवाज उठाएनन् । वैठकमा निर्णय पुनर्विचारको आग्रह भए पनि भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय