• जनतामा उकुसमुकुस छ, कांग्रेसले सम्वोधन गर्नुपर्छ : गगन थापा

  • मकवानपुर । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास र समृद्धि नहुँदा जनतामा उकुसमुकुस रहेको बताएका छन् । मकवानपुरमा भएको एक कार्यक्रममा आज (मंगलबार) महामन्त्री थापाले समस्याको समाधान कांग्रेसले निकालोस् भन्नेमा नागरिक रहेका बताएका हुन् ।

    ‘५-५ वर्षमा चुनाव भइरहेको छ । सहज सत्ता हस्तान्तरण भएको छ । संविधान बनेको छ । ठीकठाक हुँदा पनि देशभित्र उकुसमुकुस छ । प्रगतिको भोक र छटपटी छ,’ थापाले भने, ‘तर अहिले जनताले अँध्यारोबाट नेपाललाई उज्यालोमा लिएर गएकोमा धन्यवाद दिएका छन् । तर यतिबाट पुगेन अब मलाई विकास चाहिएको छ । अब टेलिभिजनमा बाहिर देखेको जस्तो विकास हेर्ने रहर छ । उन्नती हुन्छ भन्ने भोक कांग्रेसले पूरा गर्ने उपायको निम्ति कांग्रेसले प्रयास गरोस् भन्ने छ ।’

    थापाले पुरानो कुरामा अड्किएर बस्न नहुने भन्दै जनताले बोध गर्ने गरी विकासको मार्गमा अगाडि बढ्नुपर्ने बताए । यसका लागि कांग्रेसले प्रयास गर्नुपर्ने उनको भनाइ छ । फरक प्रसङ्गमा महामन्त्री थापाले तोकिएकै समयमा महाधिवेशन हुने भन्दै नआत्तिन आग्रह गरे ।

    ‘सहकारीमा कांग्रेसका ठूलै नेता भए पनि अनुसन्धानमा पाता कसेर लानुपर्छ’
    महामन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् । महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’

    जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानु पर्ने थापाले बताए । ‘यो हो नि कानुनको शासन भनेको। पाता कसेर लगेका व्यक्तिको समर्थनमा झण्डा लिएर बाहिर नआउनुस्,’ उनले भने, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउँछ । विधिको शासन यही हो ।’ कुन–कुन फाइल खोल्ने हो त्यो खोलिनु पर्ने उनले बताएका छन् । यसको अध्ययन गर्न शक्तिशाली आयोग बनाउन परे पनि बनाउनुपर्ने थापाले बताए । ‘भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु टी–इस्टेट वा क्यान्टोनमेन्टलगायत के–के काण्डका फाइल खोल्नु पर्ने हो खोलौं र जो जोले गल्ती गरेका छन् एक जनालाई पनि छुट नदिऔं, यो आँट गरौं,’ थापाले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय