• वैदेशिक रोजगार बचतपत्रको बिक्री निकै कम

  • काठमाण्डाै – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र’ को बिक्री निकै कम देखिएको छ ।

    गएको मङ्सिर १२ गते जारी भएको ५० करोड रुपैयाँ बराबरको बचतपत्रकाे अस्ति बिक्री बन्द भएको हो । यो बचतपत्र झन्डै ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र पाँच करोड ४२ लाख रुपैयाँ बराबरको बिक्री भएको छ । कार्यालयले जारी गरेको दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ ।

    नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज छ । बचतपत्रको ब्याज हरेक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्त्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन ।

    लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पूँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकि लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा कम हुने गरेको छ ।

    बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर यसको प्रचारप्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय