• चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद वैठक

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) चीन भ्रमणका लागि निस्किँदै छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन । यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको पूर्वसन्धयामा मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठकमा चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।

    भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ, चीनका प्रधानमन्त्री ली छ्याङसँग प्रधानमन्त्री ओलीको उच्चस्तरीय वार्ता हुने तय भएको छ । यसैबीच, शनिबार प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार बिआरआई परियोजना सहित विविध विषयमा छलफल जारी रहेको र भ्रमणलाई सफल बनाउन उच्च स्तरमा पहल भइरहेको छ । प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा सम्पर्क सञ्जालको विकास, व्यापार तथा पारवहन, लगानी, पर्यटन, पूर्वाधार विकास, कृषि लगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

    यसैबीच, चीन सँग हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको सम्झौतालाई लिएर बहस चलिरहेका बेला पहिलो पटक कांग्रेस र एमाले एकठाउँमा देखिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआई परियोजनाको सहकार्यको ढाँचामा सम्झौताको संशोधित मस्यौदालाई अन्तिम रूप दिएर चीन पठाएका हुन् । नयाँ मस्यौदामा नेपालले बीआरआई अन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्न अनुदान स्वीकार गर्ने स्पष्टरूपमा उल्लेख गरिएको छ । नयाँ दस्तावेज नेपाल र चीन बीचको आर्थिक र विकास सहयोगमा मात्र केन्द्रित रहेको बताइएको छ ।

    कांग्रेस र एमाले बीच भएको समझदारी अनुसार नेपालले काठमाडौं–रसुवागढी सडक स्तरोन्नति जस्ता आयोजनामा लगानी गर्न चिनियाँ अनुदान माग गर्नेछ । यसमा टोखा–छहरे सुरुङ, कोरला सीमानाको नेपाली पक्षमा पूर्वाधार विकास, मदन भण्डारी प्राविधिक विश्वविद्यालयको निर्माण डडेल्धुरामा खेलकुद रंगशाला, प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा रहेको नेपाल–चीन मैत्री पार्क लगायत योजना छन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय