• औषधि उत्पादकको गुनासो : वर्षमा ४ अर्बको व्यापार घट्यो

  • चितवन । नेपाली औषधि उत्पादकहरुले औषधिको बिक्री गत वर्षहरुमा भन्दा १२ प्रतिशतले घटेको बताएका छन् । देशमा औषधिको खपत कम भएर नभई विदेशी औषधिका कारण स्वदेशी उत्पादनको प्रयोग घटेको उनीहरुको भनाइ छ ।

    व्यवसायीहरूका अनुसार ८० भन्दा बढी नेपाली औषधि उद्योगमा ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी छ । भारत र तेस्रो देशबाट भित्रिने औषधि र भिटामिनहरुका कारण नेपाली औषधि उद्योगको लगानी जोखिममा रहेको उनीहरुको भनाइ छ ।

    हाल नेपाली औषधि उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले बताए ।

    नेपालमा एक वर्षमा औषधिजन्य उत्पादनको ६० अर्ब रुपैयाँ कारोबार हुने अनुमान छ । विगतमा नेपाली औषधिको कारोबार ३४ अर्ब रुपैयाँ हाराहारीमा रहेकामा पछिल्लो वर्ष घटेर २९ अर्ब ५६ करोड रुपैयाँमा झरेको उनले बताए ।

    नेपाली कम्पनीहरुले तयार पारेको अनौपचारिक विवरण अनुसार पछिल्लो दुई वर्षमा नेपाली कम्पनीहरुबाट उत्पादन हुने औषधिमा ४० प्रतिशतले गिरावट आएको छ । दुई वर्षदेखि कम्पनीहरुले जनशक्ति समेत थप गरेका छैनन् । उद्योगहरुले जनशक्ति कटौती गर्दा २० प्रतिशतले जागिर गुमाएको उत्पादकहरु बताउँछन् ।

    फुड सप्लिमेन्टका नाममा नेपालमा दर्ता नभएका र गुणस्तरमा समेत शंका गरिएका भिटामिनहरु नेपालमा आइरहेकाले रोक्नुपर्ने औषधि उत्पादकहरुको भनाइ छ ।

    विदेशमा बनेका यस्ता फुड सप्लिमेन्ट खरिदमा १८ देखि २० अर्ब रुपैयाँ विदेश गएको औषधि उत्पादक संघका अध्यक्ष प्रधानले बताए । नेपालमा यस्ता फुड सप्लिमेन्टहरु उत्पादन गर्न पाउने कानुनी व्यवस्था नै नभएकाले भारत र तेस्रो देशका उत्पादनको एकाधिकार रहेको उनको भनाइ छ ।

    नेपाली चिकित्सकहरुले कसिमनको लोभमा बिरामीलाई यस्ता फुड सप्लिमेन्ट सिफारिस गर्ने गरेको औषधि उत्पादकहरुको आरोप छ ।

    यस्तै, कसम्यास्युटिकल्स (छालाजन्य) उत्पादनहरु पनि नेपालमा उत्पादन गर्न नदिएका कारण विदेशबाट आउने गरेको संघका पूर्वमहासचिव विप्लव अधिकारीले बताए । यस्ता विदेशी उत्पादन खरिदमा नेपालबाट वर्षमा १० अर्ब रुपैयाँ भन्दा बढी बाहिरिने गरेको छ ।

    नेपाली औषधि उत्पादक कुल मागको ८० देखि ९० प्रतिशतसम्म औषधि उत्पादन गर्न सक्षम रहेको र गुणस्तरमा विदेशी कम्पनी भन्दा कम नरहेको संघका पूर्वअध्यक्ष जीनारायणबहादुर क्षेत्री बताउँछन् ।

    भ्याक्सिन र केही सर्जिकल उत्पादनबाहेक सबैजसो औषधि नेपालमा नै उत्पादन हुने उनको दाबी छ । नेपालबाट केही अफ्रिकी र ल्याटिन अमेरिकी देशमा सीमित औषधि निर्यात भइरहेका छन्, जसको मूल्य वार्षिक २ अर्ब रुपैयाँ हाराहारी रहेको संघका अध्यक्ष प्रधानले जानकारी दिए ।

    सरकारले नेपाली औषधिलाई विदेश निर्यातका लागि अहिलेसम्म सहजीकरण नगरिदिएको गुनासो व्यवसायीको छ । नेपाली उद्योगहरुले औषधि उत्पादन गर्न वर्षको १० अर्ब रुपैयाँको कच्चा पदार्थ आयात गर्दै आएका छन् ।

    फागुन २५ देखि नवौं फर्मा एक्सपो

    चितवनमा २५ देखि २७ फागुनसम्म नवौं फर्मा एक्सपो हुँदैछ । हरेक दुई बर्षमा हुने फर्मा एक्सपोमा १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

    तीमध्ये २० वटा स्वदेशी औषधि उत्पादक कम्पनीका र बाँकी १३० वटा विदेशी औषधि मोलिक्यूल्स, प्याकेजिङ र प्रविधि कम्पनीका हुनेछन् ।

    चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने एक्सपोमा जाम्बियाका स्वास्थ्य सचिवसहितको टोली र चिनियाँ टोली पनि सहभागी हुँदैछ ।

    एक्सपोका संयोजक प्रभात रुङ्गटाले प्रदर्शनीसँगै औषधि बिक्रेता र मार्केटिङ गर्नेहरुबीच सीपको आदानप्रदान गरिने बताए ।

    एक्सपोमा औषधि कसरी उत्पादन गरिन्छ भन्ने प्रदर्शनीसमेत हुनेछ । संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधिहरु अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने बुझाउन एक्स्पो फलदायी हुने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस