सम्भावित रामपुर जेसीसको सम्भाव्यता अध्ययन कार्यक्रम रामपुर पाल्पामा सोमबार सम्पन्न भएको छ ।पाल्पा जेसीसको आयोजनमा रामपुरमा स्थापना हुन लागेको रामपुर जेसीसको आवश्यकता र सम्भाव्यता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले समग्र समाजको सकारात्मक विकास र युवाहरुको नेतृत्व विकासका लागि जेसीस महत्वपूर्ण प्लेटफर्म रहेको बताउनुभयो । व्यक्तिगत विकास मात्र नभई समग्र समाजको विकासमा लाग्न जेसीस माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले जेसीसको माध्यमबाट नगरको समृद्धिमा लाग्नु पर्ने भन्दै जेसीसको महत्व बुझेर लाग्न युवाहरुलाई अनुरोध समेत गर्नुभयो । हरेक तहका सरकारको सुशासनका लागि सकारात्मक रुपमा खबरदारी गर्नु पर्ने जिम्मेवारी युवाहरुको रहेको भन्दै समुन्नत र अनुशासीत समाजको आवश्यकता औँल्याउनुभयो । साथै रामपुरमा स्थापना हुन लागेको रामपुर जेसीस संग सहकार्य गरेर नगरको विकासमा लाग्ने बताउँदै स्थानीय सरकार अविभावकको रुपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै स्थान र युवाले गरेका गतिविधिलाई चिनाउन जेसीसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । युवाहरुलाई उद्यमी र व्यवसायी बन्न सिकाई समाजको विकास संगै नेतृत्व गर्न जेसिसले सिकाउने भएकाले जेसीस स्थापना गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । झण्डाको राजनीति नभई सबैलाई समान अवसर प्रदान गर्ने युवाहरुको अन्तराष्ट्रिय संस्था जेसीस भएको बताउनुभयो । साथै प्रस्तावित रामपुर जेसीसलाई चाँडै नै रामपुर जेसिस बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रामपुरका उपसभापति ज्ञान प्रसाद भण्डारीले रामपुर जेसीसले समाजको नेतृत्व संगै विकासको संवाहक बन्नु पर्ने बताउनुभयो । यस्तै वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समय र उमेर संगै हरेक युवाहरुको मस्तिष्कको विकास हुन जरुरी रहेको भन्दै समय समपेक्ष विकासमा लाग्न अनुरोध गर्नभयो ।कार्यक्रममा वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभाव संगै हरेक क्षेत्रमा वितृष्णा पैदा भएको भन्दै सकारात्मक सोँच र प्रवृत्तिको विकासका लागि जेसीसले भूमिका खेल्न आवश्यक रहेको औँल्याउनुभयो । यस्तै गल्याङ जेसीस वर्ष २०२४ का अध्यक्ष खगेन्द्र भण्डारीले सम्भावित रामपुर जेसीसलाई रामपुर जेसिसको स्विकृति प्रदान गर्न आवश्यक रहेको भन्दै रामपुर जेसिसका अध्यक्ष शंकर बहादुर खाँणलाई जेसिसको पिन हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमको उद्देश्य माथी प्रकाश गर्दै पाल्पा जेसीस वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले व्यक्तित्व , नेतृत्व र उद्यमशिलताको विकासका लागि जेसीस महत्वपूर्ण संस्था रहेको बताउनुभयो । कार्यक्रममा सहभागिलाई स्वागत गर्दै सम्भावित रामपुर जेसीसका अध्यक्ष शंकर बहादुर खाँणले सुशासीत र समुन्नत रामपुर बनाउने अभियानका लागि जेसीस स्थापना गर्न लागेको भन्दै संस्थाको विकासका लागि सबैको सहयोगको खाँचो रहेको बताउनु भएको छ ।
पाल्पा जेसीस वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रस्तावित रामपुर जेसीसका अध्यक्ष शंकर बहादुर खाँणको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सुमन पछाईको सञ्चालनमा सम्पन्न भएको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।