लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने अन्तारष्ट्रिय नाराका साथ रामपुर नगरपालिकाले पनि अभियान सोमबार देखि शुरु गरेको छ ।
अभियानको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्ति व्यक्तिले गर्ने व्यवहारमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । हिंसा कसैले गर्न र सहन दुवै कार्य गर्न नहुने भन्दै हिंसा रहितको समाज निर्माण आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सचेतनाको कमीका कारण समाजमा हिंसा हुने भन्दै उहाँले हिंसारहित नगर निर्माणका लागि सचेतना फैलाउनु पर्ने बताउनु भएको छ । साथै उहाँले अभियान अन्तरगत आगामी मंसिर २५ गते सम्म विभिन्न कार्यक्रमका साथ अभियान सम्पन्न गर्ने जानकारी गराउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीले समाजमा व्याप्त रहेको हरेक हिंसाको अन्त्य गर्नका लागि सचेत र सजग भई लाग्नु पर्ने बताउनुभयो । उहाँले जस्तोसुकै हिंसाको प्रतिकार गर्नु पर्ने भन्दै सम्बन्धित निकायमा उजुरी गरी कानुनी उपचार गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले महिला तथा बालबालिका विरुद्धको हिंसा कहिल्यै गर्दैनौ ,हिंसामा उपेक्षा कहिल्यै गर्दैनौ, हिंसामा कहिल्यै चुप लागेर बस्दैनौ,सबै किसिमको हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौँ, रामपुर नगरपालिका हिंसा रहित नमुना पालिका घोषणा गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाउँदछौ भन्ने प्रतिबद्धता पत्रमा सामुहिक रुपमा हस्ताक्षर गरेका छन् । लैङ्गिक हिंसाको १६ दिने अभियान शुभारम्भको अवसरमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाको समन्वयमा रामपुर नगरपालिकाका कर्मचारी ,प्रहरी र रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्लेकार्ड सहित वेझाँड बजार परिक्रमा गरेका थिए ।
१६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिकाले न्यायीक समिति संग प्रहरी साझेदारी, महिला कानुनी अधिकार सम्बन्धी सचेतना ,उपप्रमुख बालिका शिक्षा कार्यक्रम लगाएतका विविध कार्यक्रम गर्ने भएको छ । सेतो रिबन बाँधेर शुरु गरिएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा र रामपुर नगरपालिकाका कर्चारी सञ्जु परियारको सञ्चालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका कर्मचारी,प्रहरी ,महिला दिदिबहिनी र रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।