• यो सब देख्दा पनि म रोइन म डराइन तर आमा रोइरहिन ।

    २०८० फाल्गुन ११, शुक्रबार २२:३९ मा प्रकाशित
  • निरुता गिरी | त्यो रात कसैको चिच्याहट सँग म झस्किए, अनि जुरुक्क उठे । हुन त यो चिच्याहट र यो उठाइ नौलो भने होइन । हरेक रात मिठो सपनीमा रुमलिदैँ गर्दा कारुणिक हार,गुहार मेरो कानमा ठोकिन पुग्थ्यो। अनि आँखा चिम्लिदै जुरुक उठथे ।
    तर त्यो दिन एकदम भिन्न थियो म बिचल्लीत बने । तर पनि म डराइन । सधैं आधारातमा झस्किनु, बिउँझीनु मेरो लागि नौलो भने पक्कै होइन। जब उठे, जब त्यो दृष्य देखे, म माथि आकाश खनिएको भान भयो । मेरो सारा खुसी लुटिएको जस्तो लाग्यो । सधैं रक्सीको मातले उन्माद‌ भएर होहल्ला र लडाइ गर्ने बाबा त्यो दिन गहिरो निन्द्रामा सुते क्यारे । कहिले नउठ्ने गरि । खहि किन सुते? मेरी आमा चिच्याई रहेको थिइन ‌। बाबाको शरीरलाइ झम्टिरहेकि थिइन । किन झमटेकि छिन किन चिच्याएकी छिन । मलाइ थाहा छैन ।
    सधैको कुटाइ र कलहले आजित बन्दा यो मर्ने दिन मेरो शरीरले आराम पाउछ भन्दै कराउने मेरी आमा आज फेरि उनको बोली पुरा हुँदा नि कराएकि छिन, वियोगको पिडाले । सधै म मासुको चोक्टो हुन्थे, आमा अचानो र बाबा दाउ । म दुइजनाको बिचमा टुक्रा हुन्थे । मेरो तन, मन, मस्तिष्क सधै टुक्रिन्थयो,‌सधै चुडिन्थ्यो, दिनदिनैको झगडा र पिटाइले । आजबाट शान्ति छायो तर कस्तो कस्तो बेस्वादको । मेरो मन न त आमाको रोदनले पग्लियो न त बाबाको मृत्युले । सधैं सागरको जस्तो नुनिलो पानिले भिज्ने यि आँखा त्यो दिन मरुभूमि भएछन क्यारे आँसुको थोपा पनि चुइएन ।
    सबै जम्मा भए, बाबाको अन्तेष्टि गर्न । आमा रातो गुलाबबाट सेतो गुलाब बनिन । नरिवलको जट्टा जसरी कपाल फिजारिए अनि सिँउदोको सिन्दुर धुलो जसरी पखालियो । हातका चुरा ओखर जसरी फुट्टालिए । तर यो सब देख्दा पनि म रोइन म डराइन । तर आमा रोइरहिन । बाबालाइ ओरालो लगाउदै शङ्ख बजाउँदै लगियो । आमा झन रोइन। सम्झि होलिन मलाइ कुनैदिन यहि बाटो रातो पहिरनमा बाजा बजाउदै यो घरभित्र लगेका थिए भनेर । त्यसैले त बिलौना गर्दै रोइरहिन । म उनलाइ हेरिरहे मात्र हेरिरहे । यति हुदा पनि डराइन म रोइन ।
    तर डराए‌ त त्यतिबेला जब मेरी आमाको अंग हेरेर ब्वाँसाहरुले थुक निकाल्दै गरेको देखे । मेरी आमाको मजबुरिलाइ हतियार बनाएर इज्जतलाइ खाना चपाएर जसरी चपाउन लागे । मेरी आमालाई हरेक रात ति ब्वाँसाले बलत्कार गरे । तर आमालाइ बेश्या बनाइयो । मलाइ वेश्याको छोरीको उपनाम दिइयो । मलाइ अनि आमालाइ देख्दा मुख बङ्गाइयो, आँखा तरियो, नाक खुम्च्याइयो । आमाको शरीर लुछ्ने गिद्धहरुलाइ इज्जत दिइयो । सम्मान गरियो । त्यति बेला म डराए म कराए । तर मेरी आमा मौन थिइन ।
    तै पनि आमाले सङ्घर्ष गरिन,मलाइ लड्न सिकाइन । आफु हरेक रात हारिरइन तर मलाइ जित्न सिकाइन । आफु रोइरहिन, मलाइ हास्न सिकाइन । जिवनको अर्थ बुझाइन । आफ्नो चरित्रमा दाग लगाइन, मेरो चरित्र बचाइरहिन । जिवनको पाठ सिकाइन । जिवनमा उतारचढाव हरेकमा आउँछ तर त्यसलाई सामना गर्दै अघी बढ्नुपर्छ। यो नै जिवन यो ‌। यसरी नै जिउनु पर्छ।
    म अघि बढिरहदा मेरो अघिपछि कालो छत्रछायाँ परिरहेयो । म डराइन अघि बढिरहे । मलाइ अब समाजले के भन्छ फरक पर्दैन। समाजलाइ अनि ति पापी नजरलाइ बदल्नु छ । बेस्वादको जिन्दगीलाइ स्वादिलो बनाउनु छ । नाम र इज्जत कमाउनु छ । म अघि बढिरहन्छु जबसम्म मेरो जिवनको यो यात्रा समाप्त हुदैँन ।

    सिफारिस