• रास्वपाका नेताविरुद्धको मुद्दा फुयाँल र ढकालको इजलासमा

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर सर्वोच्चमा आज (आइतबार) सुनुवाइ हुँदैछ । उक्त रिटको पेसी हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

    रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारबाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

    अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्ने गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ । अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय