काठमाण्डौ – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान रुपन्देहीमा आज पनि लिइने भएको छ । हिजो बयान नसकिएकाले आज पनि उनको बयान लिन लागिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि हिजो कास्कीबाट रुपन्देही लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।
हिजो बेलुकासम्मै सरकारी वकिल कार्यायलमा बयान लिइएको र नसकिएकाले आज पुनः बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि रुपन्देही लगिएको हो ।
भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि उनलाई काठमाण्डौमा बयान लिने तयारी भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।