• अत्याचारी शासक चितुवाभन्दा भयानक हुन्छ

  • काठमाडाैं। एक पटक चीनका महान् दार्शनिक कन्फ्युसियस आफ्ना केही शिष्यसँगै ताई नामको पहाडी क्षेत्रमा हिँडिरहेका थिए। सो बाटो जाँदै गर्दा उनी अचानक बाटोमा रोकिन पुगे।गुरु रोकिएपछि शिष्यहरू पनि उभिए र जिज्ञासु आँखाले यताउता हेर्न थाले।

    कन्फ्युसियसले शिष्यलाई भने, ‘तिमीहरू ध्यानले सुन त, यता कतै कोही रोइरहेको छ।’ यति भनेपछि उनी रोएको सुनिएको स्थानतिर फटाफट अघि बढे।

    शिष्यहरू पनि उनको पछि लागे। केही बेर हिँडेपछि उनले एउटी महिला जंगलनजिकै बसेर रोइरहेको भेटे। उनी त्यहाँ गए र सहानुभूतिपूर्वक ती महिलालाई रुनुको कारणबारे सोधे। ती महिलाले आफ्ना एक मात्र छोरालाई चितुवाले मारेको सुनाइन्।

    यो सुनेपछि कन्फ्युसियसले भने, ‘तर तिमी यहाँ एक्लै देखिन्छ्यौ त! तिम्रो परिवार कहाँ छ?’

    महिलाले जवाफ दिइन्, ‘मेरो परिवारमा अब कोही बाँकी छैन। मेरा पति र ससुरालाई पहिले नै चितुवाले आफ्नो शिकार बनाइसक्याे। बाँकी छोरा थियाे, उसलाई पनि चितुवाले खायो।’

    महिलाको यस्तो कुरा सुनेपछि कन्फ्युसियस झनै अचम्ममा परे र सोधे, ‘तिमी यस्तो डरलाग्दो स्थानबाट किन नभागेर यहीँ बसिरहेकी त?’ ती महिलाले जवाफ दिइन्, ‘मैले यो स्थान यस कारण छाडिनँ कि यहाँ कसैको अत्याचारी शासन छैन।’

    यो सुनेर कन्फ्युसियस अझ अचम्ममा परे।‘निश्चित रूपमा यी महिलालाई करुणा र सहानुभूति आवश्यक छ र उनी त्यसको हकदार छन्। तथापि, यिनको कुराले हामीलाई एउटा महान् सत्यसँग परिचित गरायो’, कन्फ्युसियसले शिष्यतिर फर्किंदै भने, ‘त्यो भनेको अत्याचारी शासक चितुवाभन्दा पनि डरलाग्दो हुनेरहेछ।’

    अत्याचारी शासनमा बस्नुभन्दा कुनै पहाडी क्षेत्र वा जंगलमा नै बस्नु उचित हुन्छ किनकि यहाँको व्यवस्था गोप्य हुन्छ। यद्यपि, जनताले अत्याचारी शासनको विरोध गर्नुपर्छ र सत्ताधारीलाई अत्याचारी शासनमा सुधार गर्नका लागि बाध्य पार्ने उपाय अपनाउनुपर्छ।

    कन्फ्युसियसले भने, ‘अत्याचारी शासनको भयका कारण सहने समाजले कुनै प्रकारले उन्नति गर्न सक्ने छैन। उसले विकासहीन जीवन बिताउँछ र युगसम्म यातना भोगाउँछ तथा सदा सर्वदा तल्लो स्तरमा राखेर जसोतसो आफ्नो जीवन व्यतित गराउँछ। तसर्थ अत्याचारी शासन पल्टाउन जनता सदैव तयार रहनुपर्छ।’ (चिनियाँ कथा)

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय