• आज केही ठाउँमा हल्का वर्षा तथा भोलि भाइटीकाको दिन मध्यम वर्षाको सम्भावना

  • काठमाण्डौ – आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज मौसम बदली भएको छ । साथै भोलि भाइटीकाको दिन पनि थप बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    भोलि कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाउँ तथा तराईका केही भाग, बागमती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ तारिखपछि तीन डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने बताउनुभयो । चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय