पाल्पा , किशोर किशोरी प्रजनन स्वास्थ्य तथा महिला वित्तीय साक्षरता कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विभिन्न समयमा हुने सचेतनात्मक कार्यक्रमले मानिसलाई सचेत बनाउने भन्दै यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । मानिसको सफल जीवन र सकारात्मक सोँचको विकासका लागि चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । हरेक किशोर किशोरी अवस्थामा विभिन्न स्वास्थ्य समस्या आईपर्ने र उक्त समस्या समाधानका लागि स्वयम सचेत हुनु पर्ने बताउनुभयो । यस्तै आर्थिक समृद्धिका लागि वित्तीय साक्षरताको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सुरक्षित भविष्यका लागि बचत गर्ने बानिको विकास संगै आर्थिक समृद्धिका लागि सहि लगानीको ज्ञान महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थापाले सकारात्मक सोँच संगै किशोर किशोरी र महिला दिदिबहिनीहरुमा स्वास्थ्य संगै वित्तीय जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वडा नं. १० का सदस्य स्ुमित्रा बर्मेलीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव सुनिता भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा डाक्टर दिलिप कार्कीले प्रजनन स्वास्थ्य र कृषि विकास बैंक रामपुर शाखा प्रमुख केशवराज डोटेलले वित्तीय साक्षरता सम्बन्धी सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा वडा भित्रका विद्यालयका विद्यार्थी र महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।