• सहकारी ठगी प्रकरण : देवकुमार नेपालीको बागलुङ जिल्ला अदालतमा बयान

  • बागलुङ । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले आज (सोमबार) जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि पुर्‍याइएको हो । 

    बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने छ । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार राति मात्र बागलुङ पुर्‍याइएको हो । नेपालीलाई आइतबार जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।

    २०८० वैशाख ७ गतेदेखि सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीविरुद्ध १,५४३ बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा एक अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुख समेत हुन् । उनले एमालेको तर्फबाट दुई पटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए ।

    यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय