• धरहरा चढ्नेको अत्यधिक भिड, एक हप्तासम्मका लागि टिकट बुक

  • काठमाण्डौ – हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । हिजो पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

    अर्को व्यवस्था नभएसम्मका लागि हरेक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि टिक बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले dharhara.gov.np वेबसाइट सञ्चालन गरेको छ ।

    भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ ।

    ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्राहलय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी छ । २०७२ सालको विनाशकारी भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस