• अबको राजनीति प्रचण्डको पक्षमा छैन : शंकर पोखरेल

  • काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूको प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताए ।

    ‘माओवादी आन्दोलन मात्र हो, पार्टी बनेकै छैन’, उनले भने । पोखरेलले नेकपा एमाले नेपाको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको दावी गरे । परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले जिकिर गरे । त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उनले सुनाए । 

    उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकताका लागि नआएका कारण नेकपा फुटेको पोखरेलले बताए । प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ । प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको उनले बताएका छन् । ‘प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, उनले भने । 

    पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको दाबी गरे । २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने उनको ठम्याई छ । यो माओवादी प्रतिको अपमान नभई सम्मान नै गरेको उनले बताए  । ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उनले भने । 

    अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताए । नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलले दाबी गरे । साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका पोखरेलले बताए । यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय