• ‘सी चेक’ बाट दुई महिनापछि फर्कियो नेपाल वायुसेवाको वाइडबडी

  • काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज ‘सी चेक’ बाट दुई महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज U9N– ALY (अन्नपूर्ण) नियमित सी चेक मर्मतपछि आज ८ बजेर ३६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिने जनाउँदै यात्रुलाई थप सुविधा पुग्ने विश्वास लिएको छ ।

    ‘सी–चेक’ का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ । एकै पटक दुईवटा विमान ‘सी–चेक’ का लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए ।

    निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन । निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस