• अब वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी रोकिन्छ : अर्थमन्त्री पौडेल

  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनु पर्ने बताएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।  

    उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताए । तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको बताए । यसको प्रमाण पछिल्ला सरकार गतिविधिले पनि प्रमाणित गरिसकेको बताए । उनले गुनासो मात्रै नभइ समाधान खोज्न लाग्नुपर्ने बताए । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गरे । सरकारले यदी सुनेको नपुगेको भए अझै सुन्न तयार रहेको र सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार रहेको उल्लेख गरे ।

    उनले भने, ‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ । म आग्रह गर्न चाहन्छु । सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने त्यतिबेला गुनासोको प्रयोजन हुन्थ्यो पनि होला । अहिलेको सरकार सुन्न तयार छ । सुन्न मात्रै होइन, समाधान गर्न तयार छ । निजी क्षेत्रका समस्या सुनेर समाधान गर्नका निम्ति सरकार तयार छ भन्नेकुरा हाम्रा पछिल्ला अभ्यासले पनि प्रमाणित गरेको छ । त्यसैले गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ ।’

    उनले भने, ‘निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ । सरकारले यदि सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ । सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार छ । जहाँसम्म संसदमा विचाराधीन कानूनको कुरा छ, निजी क्षेत्रका साथीहरुले छलफलमा भाग लिन चाहनु भएको छ, उहाँहरुका सुझाव स-शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गरौँ भन्ने प्रस्ताव म अर्थ समितिको सभपति ज्यूलाई पनि राख्नेछु ।’ अर्थमन्त्री पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय