• लुम्बिनी विकास कोषको परिषद् बैठक, ७६ करोड ९८ लाखको बजेट पेस

  • लुम्बिनी विकास कोषको आर्थिक वर्ष ०८१/८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्मा पेस भएको छ । शनिबार लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकमा कार्यक्रम र बजेट पेस गरिएको हो ।

    कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिकतर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषद्मा पेस गरेका छन् । 

    यस्तै, सदस्यसचिव सानुराजा शाक्यले दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रक्रिया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकारसमक्ष अनुरोध गर्नेलगायतका कार्यक्रमसहितको नीति कार्यक्रम पेस गरेका छन् ।

    परिषद्मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रूपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ ।

    कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद् बैठकमार्फत पारित गर्ने बताए । 

    बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको बताए । उनले आगामी दिनमा रचनात्मक कामका साथ बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय